धिमाल र लिम्बु बीचको सम्बन्ध


धिमाल र लिम्बु बीचको सम्बन्ध
सोम धिमाल(चातेला)

सामान्य जानकारी ः नेपालका जनजाति महासंघ तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आवद्ध ५९ जनजातिहरु मध्ये धिमाल एक आदिवासी जनजाति हो । तुलसी दिवसले लेख्नु भएको धिमाल लोक धर्म र संस्कृति का अनुसार, धिमाल जातिलाई “मदेसको किराँती” पनि भनिन्छ । यस जातिको प्राचीन फैलावट पश्चिम कोशी नदी सम्म र पूर्वमा मेची नदी, उत्तरमा चुरे पहाडको फेदी र दक्षिणमा हुलाकी बाटोको उत्तरसम्म रहेको कुरा प्राचीन अध्ययन सामग्रीहरुले देखाउँछ । यस जातिको ऐतिहासिक स्थलहरुमा भगेटनी गाविस स्थित राजारानी पोखरी तथा धार्मिक स्थल, लेटाङ्ग, धिमालधुरा, नगराडुवा, किचोबध आदि स्थानहरु प्रसिद्ध छन् । धिमाल जातिलाई बहुसंख्यक भाषाविद्हरुले भोट बर्मेली भाषा परिवारको हिमाली समूह अन्तर्गत परेको कुरा उल्लेख गरेका छन् । 
धिमाल जाति पूर्वी नेपालको हालको तराई क्षेत्रको मोरङ्ग, सुनसरी र झापा जिल्लाहरूमा परापूर्वकालदेखि जल, जमिन, जंगलसँग अत्यन्त घनिष्ट सम्बन्ध राखेर बसोबास गर्दै आएको एक सबैभन्दा पुरानो आदिवासी भूमिपुत्र हो । बिसौं शताब्दीको शुरुको दशकसम्म पूर्वी तराईको धेरै भु–भागहरु घना जंगल थिए र तराईका आदिवासीहरु बाहेक अन्य समुदायहरू औलो (मलेरिया) र जंगली जनावरहरूको भयले यस क्षेत्रमा बस्न आँट गर्न सकेका थिएन । यस्ता हिंस्रक वन्यजन्तुहरुसँग संघर्ष गर्दै, जीउज्यानको बाजी लगाउँदै लड्दै भिड्दै, आवाद गरी बसोबास गर्दै आएको प्राचीन एक आदिवासी हो धिमाल । 
गोरखाली सम्राज्यवादी शासनको (रेग्मी ई. १९९०) विस्तारसँगै धिमालहरूको पुख्यौली भूमि पनि गोरखा राज्यले लिएपछि धिमालहरूले आफ्नो जातीय, राजनैतिक र सांस्कृतिक स्वायत्तता क्रमशः गुमाउँदै लगे । तैपनि तराईमा औलो उन्मुलन (सं. २००७ पछि) हुनु भन्दा अगाडिसम्म धिमालहरू पुर्वी तराईमा आफ्नै राजनैतिक र सांस्कृतिक स्वायत्तताको साथ अर्धभ्रमणशील समुदायको रुपमा (हडसन् ई. १८४९)बसोबास गर्दै आएका थिए । सो क्षेत्रमा आदिवासी संस्कृति र सभ्यताको जग बसाल्ने पहिलो समुदायको रुपमा पनि धिमाल परिचित छन् । यसरी एकातिर दुई शताब्दी भन्दा लामो राज्यको राजनैतिक, आर्थिक, सांंस्कृतिक र आर्थिक उपनिवेशवादी नीतिहरूले गर्दा धिमालहरूले आफ्नो पुख्यौली भूमि र प्राकृतिक श्रोतहरूबाट बिस्थापित हुँदै जानु प¥यो भने अर्काेतिर बाहिरी संस्कृतिको आक्रमणमा परेर आफ्नो परम्परागत सांस्कृतिक जीवन शैली र सम्पदाको निरन्तरताको निम्ति संघर्षरत हुन बाध्य भए धिमालहरु । यस्तो ऐतिहासिक उत्पीडन, बहिष्करण र सांंस्कृतिक अतिक्रमण बावजुद पनि आदिवासी धिमालहरू आफ्नै धिमाल भाषा, जीवन शैली, भेषभूषा, कला–सीप तथा लोक धर्म—संस्कृतिहरूको मौलिक पहिचान सहित अझै पनि अधिकांश आफ्नै पुख्र्यौली थातथलोहरूभित्र पर्ने ९७ वटा धिमाल गाँउहरूमा बसोबास गर्दै आएका छन् । हालमा धिमालहरूको बसोबास नेपालको इलाम, सुनसरी, काठमाडौं र बाँकेमा पनि छ । 
जनसंख्या ः सन् २००१ को राष्ट्रिय जनगणना अनुसार धिमालको जनसंख्या १९,५३७ छ तर धिमालहरुको जातीय संगठन धिमाल जाति विकास केन्द नेपालका पूर्वअध्यक्ष रामबहादुर धिमालका अनुसार धिमालहरुको जनसंख्या ५० हजारको हाराहारीमा छ । धिमालको जनसंख्या स्थानीय निकायबाटै पुनः लिइंनु नितान्त आवश्यक भएको विचार राख्नुहुन्छ । वि.सं. २००९ सालमा नेपाल सरकारबाट मातृभाषाको आधारमा लिएको जनगणनाले धिमालहरुको जनसंख्या ५,६७१ देखाएको थियो । वि.सं. २०१८ सालको मातृभाषाकै आधारमा लिइएको राष्ट्रिय जनगणना अनुसार त्यसबेला मोरङ्ग जिल्लामा ४,६५९ र झापामा ३,५२९ गरी जम्मा ८,१८८ रहेको थियो । वि.सं २०२८ मा लिइएको जनसंख्या तथ्याङमा धिमालको छुट्टै उल्लेख गरिएको छैन । २०२८ सालमा प्रकाशित स्रोतहरुको आधारमा धिमालहरुको जनसंख्या १५ देखि २० हजारसम्म भएको अनुमान गरिएको पाइन्छ । धिमाल लोक जीवन अध्ययन टोली (२०२९–३०) का अनुसार धिमालको जनसंख्या त्यसताका करीब २० हजार हुने देखिन्छ भनि उल्लेख छ । यही क्रममा बढ्दै गएमा वि.सं.२०३४ सम्ममा धिमालको जनसंख्या ४० देखि ५० हजार सहजै हुने अनुमान गरेको थियो (दिवस ः२०३५÷२०३९) । ई. २००१ को केन्द्रीय तथ्याङ्क विभागले लिएको जनगणना अनुसार धिमालको जनसंख्या १९,५३७ छ । तर धिमालका आधिकारिक संस्था धिमाल जाति विकास केन्द्र नेपालले यो जनसंख्या तथ्यांकमाथि प्रश्न चिन्ह खडा गरी पुनः लिइनुपर्ने कुरामा संस्थाका प्रतिनिधिहरु जोड दिने गरेका छन् । 
दश भाइ किरातमा लिम्बु र धिमाल ः किरातइङ्गवाका दश भाइ छोराहरु थिए । यिनै दश भाइहरुबाट विभिन्न किरात शाखाहरुमा विकास भएका हुन् । यी दश भाइमध्ये कान्छो थोङ्दावा (थान्दावा) का सन्तान कोचे, मेचे, धिमाल, थारु र दनुवार भए भने योकतुम्बाका सन्तान लिम्बु भए । सालबहादुर धिमाल दमकका अनुसार थान्दावाका सन्तान तराईमा आएर उनाउँ जङ्ल फाँडेर आवाद गरेर बस्न थाले र धिमाल भए माथि पहाडतिर गएर बसेका लिम्बु, राई र अन्य किराती भए । 
मुख्य किरात शाखा किरात
१.योकतुम्बा योकतुम्बा, लिम्बु
२.अपलिवा आठपहरिया
३.याकखोवा याखा
४.लुङफेवा किरात राई, लोहोरुङ
५.याङफेवा याङफू
६.सुहाचेप्पा सुनुवार, हायु, चेपाङ
७.गुरुक्पा गुरुङ
८.मङ्गोक्पा मगर
९.थोकतोक्पा थाकल, थोकल, पुनेल, थिलेन
१०.थोङदावा वा थाङदावा कोचे, मेचे, धिमाल, थारु, दनुवार
(स्रोतः धिमाल, सलबहादुर (साल उल्लेख नभएको पृ. २)
माथिको यो भनाइ अधिकांश धिमाल सूचकहरुले पनि बताउने गर्छन् र पूर्व अध्ययनहरुमा पनि उल्लेख गरिएको पाइन्छ (दाहालः २०३६; दिवसः २०३९, खतिवडा र धिमाल ः२०६८)।
धिमाल थर र उपथरहरु तथा अन्य किरातीसँगको सम्बन्ध ः किराँतवंश देखि हाँगाको रुपमा धिमालहरु छुट्टिएको एक सहस्राब्दी भन्दा बढी भएको अनुमान छ । धिमालहरुमा जम्मा दश थरहरुबाट विभिन्न उपथरहरुमा विभाजन भएकाछन् । धिमालहरुमा एउटै हाडवंश वा थर बीचमा विवाह चल्दैन । धिमालहरुको थर विभाजन तथा उपथरहरुले गर्दा विवाह संस्कार गर्न सजिलो भएको छ । धिमाल जातिमा हारा र थर एउटै प्रयोजनका लागि प्रयोग भएको पाइन्छ । प्रत्येक थर तथा उपथरहरुको आफ्नै प्रकारका विधिहरु तथा गर्न नहुने कुराहरु छन् । हरेक थरहरु आफ्नो मृत्यु संस्कारका कर्म गर्ने विधिहरुमा छुट्टिन्छन् । लातेर थरका धिमालहरुले पार्वा पुजा गर्दा अरुले पुजा गर्ने भन्दा अघिल्लो रात नै कुखुराको अण्डा, रातो भाले, नयाँ फलफूलहरु, अमलाको बोट, फल, हर्दि, अदुवा, भजै र वन तरुलको दियो बाली, धुपधुमाना जलाई पुजा गर्दछन् । तेङ्गसिंङको बोक्राले मृत्यु भएको व्यक्तिलाई चढाई गाड्ने गरेको हुँदा तेङ्गमाली थर भएको हो । त्यस्तै लोसिङ दोङ्गेले सिमलको रुखको बोक्रा, हर्दिया दोङ्गेले बेसारको बोट वा पात आदि मृत्यु संस्कारमा चाहिन्छन् । 
धिमालहरुको थरहरु कसरी रह्यो भनि हेर्दा खास यही प्रमाण हो भन्ने चाहि पाइदैन तर पनि पुरानो गाना बूढापाकाहरुले गाउँदा जारेजारे सोना काङ्को गानाको बोलमा केही प्रमाणहरु पाइन्छन् । गानाको बोल ः 
“जारे जारे सोना ठाकुरराजा
नेलाईको द्यालोङ आबाको 
द्यालोङ चान चुम्तेङ लोघा
हाइपाङ्का ससुराजा”
यस गानाको बोलमा चार भाइका छोराहरु लिएर आएको भनि गाउँछन् । धिमालका संस्कृतिविद् गणेशमान धिमालका अनुसार चार बुबाहरुमा एउटा बुबा दिङ् , दोङ् , दोङ्ग्याहरुका पिता पुर्खा थिए । दोश्रो बुबामा तेघ्रे, तेङ्माली(लातेर), तालिपाहरुका बुबा थिए । तेश्रो बुबामा रा थुम, राजथुमका बुबा थिए भने चौथो बुबामा म्हावाको पाहाको(ज्वाई तिरको), बाहारपाहासो(बाहिरबाट), धेमालाईता लोका(धिमालमा भित्रिएको) समूहहरु थिए । “देहे” भनेको धिमाल भाषामा एलोङ थामेता हिका वा एउटा ठाउँमा बस्ने भन्ने हुन्छ । यस समूहका बुबा भनेका दिङ् , दोङ् , दोङ्ग्याहरुका पिता पुर्खा थिए । “रा थुम भनेको धिमाल भाषामा रा को एलोङ खिनिङ थुमता हिका वा पहाडको एउटा थुम्कोमा बस्ने भन्ने हुन्छ । यस थरका बुबामा राथुम र राजथुम धिमाल थरका पितापुर्खा पर्दछन् । अर्कोमा ला तेर भनेको धिमाल भाषामा लातेङ ए तालाता हिका वा छोडेको एक तला घरमा बस्ने भन्ने हुन्छ । यस बुबाका सन्तानहरुमा तेघ्रे, तेङ्माली(लातेर), तालिपाहरु पर्दछन । अर्को समूह भनेको बिग्रेर ज्वाईंबाट भित्रिएको बुबाका सन्तानहरु पर्दछन् । यसमा थारु, बंगलाइती, लिम्बु(लेम्बाङ), योङयाङ आदि पर्दछन् । यसरी चार भाइका दश थरका धिमालका सन्तानहरु भएको हो भनि उहाँले व्यक्त गर्नुहुन्छ । 
धिमालहरुको आदिकालबाट छुट्याइएको दश थरहरुका नामहरु निम्न प्रकारका छन ः दिङ्ग, दोङ्गे, दोङ्ग्या, लातेर, थारु, राथुम, बंगलाइती, लेम्बाङ्ग, तालिपा र तेघ्रे । प्रत्येक थरका उपथरहरु पनि छन् । ती थर तथा उपथरहरुलाई तलको तालिकामा देखाइएको छ । 
धिमालका थर तथा उपथरहरु 
दश मूल थरहरु थर भित्रका उपथरहरु
दिङ्ग राजदिङ्ग, दिङ्गजल, दिङ्ग धिमाल, दिङ्ग, मुलिङ्ग दिङ्ग
दोङ्गे लसिङदोङ्गे, सिमलदोङ्गे, साधादोङ्गे, शुद्धदोङ्गे, सूर्यदोङ्गे, श्रीदोङ्गे, साजदोङ्गे, राजश्रीदोङ्गे, रा दोङ्गे, कुस्यारदोङ्गे, राजदोङ्गे, राजकासेरदोङ्गे
दोङ्ग्या हर्दियादोङ्ग्या, नूनियादोङ्ग्या, मट्टेरीदोङ्ग्या, राजनूनिया दोङ्ग्या, दिङ्गदोङ्ग्या, योङयाङदोङ्ग्या, राजदोङ्ग्या, रादोङ्ग्या, लक्ष्मीदोङ्ग्या, कास्यारदोङ्ग्या, मुलिङ्गदोङग्या, हर्दियानूनिया दोङग्या
लातेर लातेर, तेङ्गमाली, माखिम, चाल्र्सतेङ्गमाली, तेल्मातेङमाली, बाङमाली, चोइमाली
थारु कान्तिला, राजथारु
राथूम राजथूम, राथुम
बंगलाइती जोङलाइती, बोङलाइती, जोगी
लेम्बाङ्ग लेम्बाङ्ग
तालिपा दुधे तालिपा, तालिपा, शुद्ध तालिपा
तेघ्रे तेघेह्रा, ओघोन्या
(स्रोत ः धिमाल ः २०६६)
यी थरहरुमा लेम्बाङ, योङयाङ, माखिम लिम्बुसँग मिल्ने थरहरु हुन् । तेङमाली, चोइमाली, बाङमाली आदि राईसँग मिल्ने थरहरु हुन् । राजथारु वा थारु थर थारुसँग मिल्दछ । यसरी थरको आधारमा पनि धिमाल र अन्य किराती आदिवासीहरु बीचमा नजीकको सम्बन्ध छ ।
धिमाल जातिमा वंशको पुस्ता बढदै जाँदा हारा भन्ने गरिन्छ । त्यसैले हारा शब्द आर्यहरुको सगोत्री समान प्रयोग भएको अनुमान गर्न सकिन्छ । धिमाल जातिले एउटै बावुबाजेका सन्तानलाई परिवार (थोपा) र कुलवंशको पुस्ता बढदै जाँदा वंशावली (हारा) बन्ने चलन देखिन्छ । सामान्यतः चार पुस्ताभन्दा नजिककोलाई एउटै भान्सा भित्रकोलाई थोपा र त्योभन्दा बढी पुस्ता भएमा हारा हुन्छ भन्ने सामाजिक मान्यता रहेको पाइन्छ । उनीहरुले हारा र थरलाई एउटै वंशको रुपमा लिने गर्दछन् र एउटै हारा भित्र बिहेवारी चल्दैन् । 
अहिलेसम्म धिमाल समाजमा गोत्र सोद्धा अरु जातिले जस्तो कुनै पुर्खाको नाम लिदैनन् वरु काशी गोत्र या ल्हासा गोत्र भनी स्थान विशेषलाई संकेत गर्दछन् (दिवस, २०३९)। यो भनाइलाई प्रष्ट पार्दै दाहाल भन्दछन् धिमालहरु गोत्रबारे स्पष्ट नभए पनि अरुलाई सुनाउँदा काशी या ल्हासा गोत्रको हौं भन्दछन् । प्रायः सवै किरातीहरु काशी या ल्हासा गोत्री भएको बताउँछन् । गोत्रका सन्दर्भमा यो भनाइ धिमाल जातिका बारेमा पनि सान्दर्भिक हुनेछ । “जो टिवेटबाट सोझै वेस प्रदेशमा बस्नेहरु ल्हासा गोत्री र इराक अरब हुँदै पूर्व आएका सिन्ध मैदान र उत्तर हिमालयको दक्षिण पहाडदेखि लिएर पूर्व आसामसम्मका किरातहरु काशी गोत्री कहलिए” (थुलुङ, २०४२)। यी भनाइहरुले धिमाल जातिमा गोत्रभन्दा थरले निकै महत्व पाएको देखिन्छ । एउटै वंश वा हारा समुहलाई धिमालहरुले पारिवारिक संगठनको रुपमा लिने गरेका छन् । मर्दा पर्दा भेला हुने, विवाह भोज भोतेरमा भेला हुने र सहयोग गर्ने, विशेष परिस्थितिमा सहभागी भई सहसहयोग गर्ने परम्परा वंशावली वा हारा समूहबीच धिमाल समुदायमा पाइन्छ । हालमा वंशावली पुस्ता प्रकाशन पनि यस प्रकारका पारिवारिक संगठनहरुमा भएको पाइन्छ ।
किंवदन्ती, परम्परागत विश्वास, लोकप्रिय जनश्रुतिहरु
धिमालहरु आदिकालबाटै प्रकृति पुजक हुन । यिनीहरु प्रकृतिमा पाइने चीजबीजहरुलाई पुजा गर्ने परम्परा बाजे बराजुको पाला देखि अहिले सम्म पिछा गरिराखेका छन् । धर्ती माता, जल, जंगल, बाटोघाटो, पानी पंधेराहरु, झोरा(नदी), प्रयोग गरेका सामग्रीहरु, हातहतियारहरु, घरका सामानहरु, घरमा पालेका जन्तुहरु, घरको देवी साली बेराङ, पार्वा पुजा, ग्रामथान पुजा, मृतात्मा पितापुर्खा(जाउरागेलाई), देरागेलाई(गाउँमा जान्ने शक्तिशालीहरु), धिमालका आफ्नै देउताहरु बूढाठाकुर वाराङ, चाउमाझी, लक्ष्मी बेराङ, बूढा ठाकुर बेराङ, दाङका वाराङ, दाङका बेराङ जस्ता पुस्तौ पुस्ताबाट पुजी आएका देवदेवीहरुलाई वर्षमा एक पटक पुजा गर्ने परम्परा छ । यस समुदायमा वरिपरिका नदीहरु, जंगलहरुलाई पुजा दिने चलन छ । पितापुर्खाको पाला देखि आएको यो चलन हालसम्म छ ।
यस समुदायमा ओझा र धामीको विश्वास गर्ने परम्परा उहिल्यैबाट हालसम्म रहिआएको छ । बिमारी परेमा नजीकको ओझा कहाँ झारफुक गराउने चलन छ । झारफुक गर्दा निको नभएमा मात्र अस्पताल लैजाने चलन छ । त्यस्तै कसैको कुनै कुराहरु माग गर्न परेमा जात्री मेलाको अवसरमा भाकल गरी माग्ने चलन छ । कसैलाई छोरा चाहिएको छ भने माग्ने र पुरा भएमा अर्को वर्ष भाकल दिने चलन रहिआएको छ । ठूला ठूला महामारीबाट आदिकालमा बचाउने काम धामीले गर्ने गर्दथ्यो । बाढी आएको खोला फर्काउने, हिंस्रक जन्तुहरुलाई गाउँ बन्धन गरी गाउँमा छिर्न नसक्ने बनाउने काम त्यसताका धामीले गर्ने गर्दथ्यो भनि जनविश्वास रहिआएको छ । माझी समितिले पनि यी शक्तिहरु पहिलाका धामीहरुमा थियो भनि दाबी गर्दछन् । तर ओझाले औषधी उपचार गर्ने, झारफुक गरी रोग निको पार्ने कामहरु मात्र गर्दथ्यो । माझी वाराङ समितिमा त्यसताका ५ सदस्यीय प्रतिनिधिहरु मात्र हुन्थ्यो । तिनीहरुमा माझी वाराङ्ग, धामी वाराङ्ग, हानुवा, गाउँ बूढापाका र ओझा हुन्थ्यो । यी ५ सदस्यीय समितिका प्रतिनिधिहरुले गाउँका सम्पूर्ण कुराहरु चुम्लुङ गरी मिलाउने, मुद्दा छिनोफानो गर्ने, आफ्नो गाउँको परम्परागत नीति, नियम, मान्यताहरु बचाउने, गाउँमा शान्ति अमनचयन कायम गर्ने जस्ता सम्पूर्ण कार्यहरु गर्ने गर्दथ्यो । त्यसताका देशको नियम, कानून नभएको बेलामा यी संस्थाले नै सम्पूर्ण कार्यहरु गर्ने चलन थियो । 
यसबाट के स्पष्ट छ भने धिमालहरु आदिकालबाटै जल, जमिन, जंगल माथि यिनीहरुको आधिपत्य थियो । तराई प्रदेशमा यिनीहरु आदिकालबाटै अधिकार सम्पन्न थिए तर जब एकीकरणको काम भयो, त्यसपछि यिनीहरुलाई कमजोर बनाउने नीति, नियमहरु लादिए तर यिनीहरु शिक्षा, दुरदर्शिताको अभावमा यी कुराहरु बुझ्न सकेनन् । धिमाल समुदायको आफ्नै परम्परागत संस्था माझी वाराङ संस्था समाज विकासको क्रममा जन्मेको संस्था हो । यो संस्था मार्फत गाउँमा नीति, नियम बनाउने, शान्ति व्यवस्था कायम गर्ने, मुद्दामामिलाहरु मिलाउने, गाउँको सुरक्षा कायम गर्ने जस्ता कामहरु हुने गर्दथ्यो र हाल पनि यो संस्था धिमाल समुदायहरुमा छन् र कामहरु निरन्तर गरिराखेका छन् । सोही अनुसार लिम्बु समुदायको परम्परागत संस्थामा पानतुम्याङ थियो । यस संस्थाले तत्कालिन समाजका समस्याहरु, समाज सञ्चालनको नीति, कानूनहरु निर्माण गर्ने गर्दथ्यो । तर राज्यको विभेदकारी नीतिका कारण यो लिम्बुको परम्परागत संस्था लोपोन्मुख भइसकेको छ । 
तुलसी दिवसले आफूले लेख्नु भएको प्रदर्शनकारी धिमाल लोक संस्कृति(२०३५) तथा धिमाल लोक–धर्म र संस्कृति(२०३९) अनुसार “धिमाल जाति आफूलाई किराँती मान्दछन् । इसापूर्व १००० बर्ष भन्दा धेरै पहिला संभवत ः आर्यहरुको आगमन भन्दा निकै अघि भारतीय उपमहाद्वीपको उत्तरी र उत्तर पूर्वी हिमालय क्षेत्रमा आएर बसोबास गरेका किराँतीहरुको एक शाखाभित्र धिमालहरु पर्दछन् । जनश्रुति अनुसार वंशावलीमा किरातइङवाका दश भाइ छोराहरु मध्ये कान्छा थाङदावाका जेठा छोरा धिकोम्पाका सन्तानहरु धिमाल भएका हुन । किराँतीहरुमा पनि लिम्बूलाई सबैभन्दा नजीकका दाजुभाइ धिमालहरुले ठान्दछन् ।” शारीरिक बनावटको दृष्टिकोणले धिमाल जाति मंगोल स्कन्धका हिन्द–मंगोल शाखामा पर्दछन् । हिन्द–मंगोल प्रजातिमा पाइने गुणहरु यस जातिमा पनि पाइन्छन् । जैविक तथा भौगोलिक पर्यावरणको असरमा केही शारीरिक तथा वंशात्मक गुणहरुमा परिवर्तन भने आएको छ । गाढा खैरो शरीरको रंग, कालो तर बाक्लो र खस्रो केश, दाह्री जुँगा र शरीरको रौ कम भएको, साना–साना आँखा, पातला आँखीभौ र परेला, आँखाका माथिल्लो ढकनीमा मंगोल–पत्र भएको, छोटो, होचो र तल केही फुकेको नाक, नाकका ठूला ठूला प्वालहरु, मध्यम वा केही मोटो ओठ, प्रायः लामा र पाताला कान, गोलो चिउँडो, बोसो भएको गाला, टम्म कसिएको शरीर र औसत राई लिम्बु भन्दा केही अग्लो कद आदि नै धिमालहरुको शारीरिक बनावटका संक्षिप्त वर्णन हुन् । 
“धिमाल तथा लिम्बुहरुको उत्पत्तिको विषयमा धेरै दन्त्य कथा तथा जनश्रुतिहरु भेटिन्छन् । तुलसी दिवस, डिल्लीराम दाहाल लगायत अन्य लेखक तथा अनुसन्धान कर्ताहरुले किराती दाजुभाइको कथा धेरै पटक उल्लेख गरेको पाइन्छ । “कुनै समयमा दुई दाजुभाइ तीर्थ गर्न काशी गएर फर्कंदा कुनै कारणवश भाइ पछाडि परेछ, दाजुले भाइलाई बाटोको चिन्ह स्वरुप केराको बोट र बोहरीको रुख काट्दै अघि बढेछ र सोही हेर्दै आउनू भन्दा भाइ केराको टुसो पलाइसकेको र बोहरीको रुख कालो भइसकेको देखेपछि निराश भएर तराईमै बसी धिमाल भएछ र दाजु पहाडतिर गई बसोबास गरेकोले लिम्बु र राई भएछन् ।” अर्को एउटा प्रचलित श्रुतिपरम्परा अनुसार इन्द्रको राज्य स्वर्गमा केरकोई र नेरकोई दुई सुन्दरी परीहरु थिए । उनीहरु नाच्दा दुई प्रसिद्ध बादकहरु साँकु र माँकु थिए । यी परीहरु नाच्दा आँखा दुई वादकहरुकहाँ प¥यो र तालमा चुक्यो । त्यसपछि इन्द्रको रीस उठ्यो र उनीहरुलाई मत्र्यलोकमा झर्ने सराप दिए । पृथ्वीलोकमा झरेपछि साँकु र माँकु क्रमशः सुखनु र दुखनु भए भने केरकोई र नेरकोई क्रमशः हीरा र मोती भए । श्रापमोचनको लागि विभिन्न ठाउँहरुमा घुम्दै जाँदा उनीहरुबाट सन्तान जन्मियो । यिनीहरु मध्ये हीराको सन्तान धिमाल र मोतीको सन्तान लिम्बु भएका हुन् भन्ने जनश्रृतिहरु पनि भेटिन्छन् । तर यो त्यति प्रचलित र प्रसिद्ध छैन् (दिवसः २०३९ः ७) । डिल्लीराम दाहालको धिमाल लोक जीवन(२०३० ः १४)का अनुसार पनि तुलसी दिवस तथा ऋषिकेशवराज रेग्मीको माथि उल्लेख गरेको कुरा धिमाल र लिम्बुको कथामा दोहोरिएको पाइन्छ । डिल्लीराम दाहालले आफ्नो “धनकुटामा बसोबास गर्ने आठपहरिया राईहरुको सामाजिक सांस्कृतिक र सामाजिक परिवहन अध्ययन त्रि.वि.वि.नेपाल र एशियाली अध्ययन संस्थान”को प्रतिवेदनमा उल्लेख भए अनुसार धनकुटा क्षेत्रमा बसोबास गर्ने किमदाङ थरका आठपहरिया राई र धिमालहरुको भनाई अनुसार यिनीहरु आपसमा साख्खै दाजुभाइ हुन । 
लिम्बु र धिमालको बसोबास ः उपलब्ध ऐतिहासिक तथ्यहरुले मंगोल र किराँत जातिलाई नै नेपालको आदिवासी भनिएको हो । ईस्वीको १८ औं शताब्दीसम्म नेपालको भूमिमा अलग अलग स्वतन्त्र राज्यहरु भएको इतिहासकारहरुको दावी र प्रमाण छ (तामाङ, २०५४ ः ३) । उल्लेखित आधारमा के प्रष्ट हुन्छ भने धिमाल जातिको पनि प्रारम्भिक विकासको चरणदेखि नै नेपालको भूगोलमा धेरै अवस्थाहरू पार गर्दै आएकाले स्वतन्त्र कविलाई राज्य भएको प्रमाणित हुन्छ । 
पृथ्वीनारायण साहको राज्य विस्तार तथा नेपाल एकिकरण गर्नु भन्दा अगाडि पहिला आदिवासी (राई, लिम्बु, तथा अन्य जात जातिहरू) जातिहरू अलग अलग बेग्लै स्थिर समुदाय÷गणराज्यहरूमा बसोबास गरेका साथै आ–आफ्नो जनसमुदायहरूको छुट्टै भाषा, संस्कृति, धर्म, आर्थिक, साझा संस्कृति, साझा आर्थिक जीवन, साझा बसोबास भएको, “हामी धिमाल जाति” भन्ने साझा मनोभावनात्मक एकताको रुपमा विकसित स्थिर समुदायको अवस्था पहिचान तथा चिनाउने काम पहिला नै भएको हो । लिम्बुको त्यसताका लिम्बुवान भूमि थियो । 
सं. १९७६ भन्दा अगाडि शाहवंशीय शासन कालमा माल र लाख भनी भूमि सम्बन्धि व्यवस्थापन भएको थियो । लाखलाई किपट भूमिमा खासगरी पहाडको भूमि लिम्बु, खम्बुलाई दिएको र मालमा आधारित चुरे पहाडको दक्षिणी तराईको भूमिमा विभाजन गरी वर्गीकृत गर्ने व्यवस्था भएको थियो । नेपाल एकिकरण पछि सं. १९०८ सम्म आदिवासी धिमाल जातिहरूको बसोबास भूमि अन्य जातिहरूको कसैको पनि बसोबास र भूमिमा अधिकार नभएको, एकात्मक सामन्ती राज्य (शाहवंशीय राज्य प्रणाली) व्यवस्थामा राजा र दरबारको सेवा गर्नेहरुलाई किपट, माल, बिर्ता दिने व्यवस्था लागू भएपछि मात्र यो आदिवासी भूमिहरूमा अतिक्रमण शुरु भएको अनि बसाइँ सराइ विधयक तथा कानून लागू पश्चात जल, जमिन, जंगल आदिवासीको प्राकृतिक सम्पदा हस्तक्षेप गरी आदिवासीहरूको परम्परागत रुपमा चल्दै आएको मानव जीवनयापन पद्धतिलाई तहस नहस बनाएको थियो । यस आधारमा के प्रमाणित हुन्छ भने आदिवासी धिमाल यो भूमि, पानी, जंगल क्षेत्र, तथा प्राकृतिक सम्पदाको आधारमा मानवीय अधिकारहरूसँग धेरै नजिकको नाता त्यो समयदेखि नै धिमालहरूमा भएको प्रष्ट हुन्छ । 
ओझाको परम्परा ः ओझा र धामीमा धिमाल समुदायमा केही फरक छ । आदिकालबाटै ग्रामथानमा पुजा गर्ने, गाउँमा कुनैपनि रोगव्याध नलागुन भनि पुजा दिने, हिंस्रक वन्यजन्तुहरु गाउँमा प्रवेश गर्न नसकून भनि गाउँ बाध्ने, गाउँमा टाकाबान्धा पूजा गर्ने, पानी परुन, अन्नबाली राम्रो होस साथै गाउँमा सबैलाई राम्रो होस भनि पूजा दिने व्यक्ति धामी हो । तर कुनै रोगहरु लाग्यो भने झारफुक गर्ने, देउता खेलाउने र ओखतीमूलो गर्ने र निको पार्ने व्यक्ति चाहि ओझा हो । ओझाले आफ्नो मन्त्रहरु फलाक्दा भोअ्का ओझा गर्दा किराती समुदायहरुलाई पनि फलाक्ने गर्दछन् । विशेष गरी कुनै पनि परिवारमा महिलाको कोखबाट बच्चा जन्मिदा नबाँच्ने भएमा वा बच्चाहरु नहुने भएमा आजभोलिको डाक्टर नर्सहरु, अस्पतालको सुविधाहरु नहुँदा उहिल्यै उहिल्यै जंगली जीवनताका धिमालहरु तन्त्रमन्त्रमा बढी विश्वास गर्ने गर्दथे । त्यसताका गाउँघर तथा समूहमा धामीझाँक्री तथा ओझामा बढी विश्वासको साथै धर्म केन्द्रीत तन्त्रमन्त्रको युग थियो । ओझाको कुरा किराती समुदायको मुन्धुममा पनि उल्लेख छ । त्यसताकाबाट फलाक्दै आएका भोअ्का ओझाको केही मन्त्र यहाँ उल्लेख गरिएको छ ः
दे रेई.... आमाई हम् .....
न्हापाली मागोई, तोङपाली मागोई
मागोइखेरे आमाई ....
नाङ सोनाको केर्खा रुपाको जार्खा
न्हापाली मागोई, तोङपाली मागोई
............................................
ए आमाई ....
नाङको नावाई धोरिखा रेई आमाई
सिन्दुर फोटा प्यानिङ रेई आमाई
फुलपाती प्यानिङ रेई आमाई
पाहारको राई राइनी, लिम्बु लिम्बुनी, शेर्पा शेर्पेनी, 
तराईको धिमाल धिमाल्नी, मेचे मेचेनी, थारु थारुनी, दनुवार दनुवार्नी
..............................................................
इदोई धर्ती माता साक्षी तातेङ रेई आमाई
अग्नी साक्षी जलसाक्षी ताअ्खा रेई आमाई .....
................................................................
यो मन्त्र फलाक्दै पुजा गर्दा ओझा(झाँक्री)ले पहाडमा बस्ने किराती राई, लिम्बु, तराईमा बस्ने धिमाल, मेचे, थारु र दनुवारका साथै शेर्पालाई सम्झिने गरेको पाइन्छ । मन्त्रमा नै उठाउनु बसाउनु, नचाउँनु, उफार्नु हुँदैन भनि धिमाल भाषामा उल्लेख गरेको पाइन्छ । विभिन्न नदीनालाहरु, झोराझोरीहरुको नामहरु पनि मन्त्र फलाक्दा आउँछन् । धर्ती माता, अग्नी तथा जललाई साक्षी राखी पुजा गरी मन्त्र फलाक्दै गरेको पाइन्छ । मन्त्रमा नै किराती वंशावलीहरुलाई फलाकेको केही उदाहरण पनि पाइन्छ । 
प्रकृति पुजक ः त्यस्तै राई, लिम्बु तथा धिमालहरुबीचमा प्रकृति पुजागर्ने कुराहरु मिल्न आउँछ । राईहरु उभौली पर्व वैशाख पूर्णिमा(चण्डी पूर्णिमा) मा साकेला नाच, नयाँ वर्षको शुरुवातबाटै मनाउने गर्दछन् भने एतातिर धिमाल समुदायमा गाउँ गाउँ, टोल टोलमा सोही बेला सिरजात तथा जात्रीमेलाहरु धमाधम लगाउने परम्परा र चलन देखिन्छ । बैशाख १ गते जाग्रात बस्ने र बैशाख २ गते राजारानी, धिमाल डाँडा, भोगटेनी ८, मोरङमा पहिलो पुजा र जात्रीमेला धुमधामसँग लगाउने चलन धिमाल समुदायमा पाइन्छ । यो खास गरी समयमा पानी परोस, समुदायमा असुभ नआओस, गाउँमा सुख शान्ति बढोस, रोगव्याध नलागोस, हिंस्रक जीवजन्तुहरुले दुःख नदिऊन, सोहो बढोस, खण्डवृष्टी, अतिवृष्टी नहोस, अन्नबाली नालीहरु धर्तीमा राम्रो फल्न सकून, अनिकाल नलागोस, गाउँमा एकता बढोस भनि धिमाल ग्रामथानमा पूजा दिने चलन आदिकाल जंगली जीवन व्यतित गरेको समय देखि नै पितापुर्खाहरुले दिने चलन थियो र हालमा पनि यो चलन निरन्तर छँदैछ । विशेष गरी यो पुजा दिंदा प्रकृतिलाई पुजा गर्ने चलन देखिन्छ । धिमालहरुको थानहरु वा ग्रामथानहरुमा कुनै पनि देवदेवीहरुको मूर्ति तथा प्रतिमाहरु राखिएका हुँदैन्न । तर पुजाको बेला हात्ती, घोडा(नार्या, ओह्या) र माली ओह्याको प्रतिमा बनाएर पुजा दिने चलन छ । विभिन्न देउताहरुको चामल र अक्षताबाट प्रतिमा बनाएर पुजा गर्ने चलन छ । साकेलामा जमघट हुने वातावरण हुनाका साथै प्रकृति पुजाको अभिनय गरी सामुहिक नृत्य गरे जस्तै धिमालहरु पनि सामुहिक भेटघाट गर्ने, सामुहिक पुजा गर्ने, संस्कार संस्कृतिको संरक्षण गर्ने, आफ्नो छुट्टै पहिचान गराउने, ढोल प्रतियोगिता गर्ने जस्ता विविध कृयाकलापहरु यस सिरजात तथा जात्रीमेलामा गर्ने गर्दछन् । यस्ता प्रकृति पुजा गर्ने परम्परा र चलन अन्य किराती आदिवासी सबैमा पाइन्छन् । यो प्रकृति पुज्ने, च्याब्रुङ बजाउने, धान नाच नाच्ने परम्परा लिम्बुमा छ । 
संस्कार संस्कृति ः त्यस्तै आदिवासी किरातीहरुमा केही संस्कारहरु मिल्दछन् । जन्म, विवाह तथा मृत्यु संस्कारमा केही कुराहरु किराती समुदायहरुभित्र मिल्न आउँछन् । धिमाल जातिको सामाजिक परम्परा अनुसार विवाह परम्परा आफ्नै किसिमको छ । विवाहमा चिण्डोमा रक्सी दिने परम्परा धिमाल, राई, लिम्बुमा मिल्न आउँछ । मृत्यु संस्कारमा गाड्ने चलन पनि लिम्बु, राई र धिमालमा मिल्न आउँछ । त्यस्तै चोखिने बेला फलाकी चोख्याउने विधि पनि धिमाल र लिम्बुमा मिल्न आउँछ । हालमा त झन लिम्बुले धिमाल, धिमालले लिम्बु मगनी विवाह नगरेतापनि युवायुवतीहरुबीच विहेबारी भएको प्रशस्त उदाहरणहरु पाइन्छन् । प्राचीन ताका पनि यो चलन चलेको देखिन्छ । यसरी नियाल्दा लिम्बुसँग धिमालको जन्म, विवाह तथा मृत्यु संस्कारहरु मिल्न आउँदछ । 
आदान–प्रदान ः धिमालहरु जंगली अवस्थाको जीवन देखि विस्तारै वस्ती व्यवस्थापन हुँदा लगभग पन्ध्रौ शताब्दीतिर र सभ्य समाजमा प्रवेश गर्दा विभिन्न क्षेत्रबाट विभिन्न सहयोग आदान प्रदान गर्दै आएको इतिहास छ । समाज विकास पछि समुदायमा एकता होस, समुदायको संस्कार तथा संस्कृतिको विकास होस भन्ने हेतुले सोही बेला देखि गाउँमा माझीवाराङ बनाउने चलन धिमालमा शुरुवात भयो । त्यसपछि गाउँमा रेखदेख गर्ने, गाउँ चलाउने, गाउँको नेतृत्व गर्ने, गाउँको नियम कानून बनाउने, मुुद्दा मामिला मिलाउने र न्याय दिने कामहरु माझीवाराङले गर्दै आएको इतिहास पाइन्छ । सामुहिक एकता भए देखि नै गाउँमा वर्षमा एकपटक सिरजात वा जात्री मेला लगाउने चलन बस्यो । यो चलन तथा परम्परामा धिमालहरु गानाको माध्यमबाट जात्रीबाजार वा जात्रीमेलाको बेला गीतबाट धिमाल तथा अन्य किराती समुदायबीच कस्तो सम्बन्ध रहिआएको थियो भन्ने स्पष्ट हुन्छ ः 
धिमाल भाषामा गीत नेपाली भाषामा अर्थ
१.नुहेँसो लोखे रेई, साइसाम्पा
२.दाहेँसो लोखे रेई, माकाई झाबारा
३.दिहेँसो लोखे रेई तोले तोपाला
४.माहेँसो लोखे रेई लात्ताकपरा १.पूर्वबाट आउँछ सोहो(सुभसाइत)
२.उत्तरबाट आउँछ मकै झुत्ता
३.पश्चिमबाट आउँछ कोसेली
४.दक्षिणबाट आउँछ लत्ताकपडा
जात्रीमेला तथा सिरजातको अवसरमा गाइने यो गीतमा धिमालहरुको सुभसाइत तथा राम्रो कुराहरु पूर्व दिशाबाट आउने कुरा उल्लेख छ । खासगरी उत्तरबाट मकै झुत्ता तथा अन्य सामग्रीहरु धिमाल समुदायमा आउने गर्दथ्यो । सुनुवारले डोको, डालो ल्याइदिने, सुन्तला, आरु जस्ता जीवनमा आवश्यक सामानहरु पुष माघ जाडोयाममा ल्याइदिने चलन थियो । तल तराई धिमाल गाउँबाट धान चामलहरु लैजाने चलन थियो । त्यस्तै माथिबाट तान बुन्ने सामाग्रीहरु लिम्बुले ल्याइदिने चलन पनि थियो । पदमचाल, सिलाजित, चिराइतो जस्ता औषधिहरु माथिबाट तलतिर शेर्पाले प्रायः ल्याइदिने गर्दथ्यो । तलतिरको उत्पादनहरु माथितिर जाने गर्दथ्यो । यसरी एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहिआएको त्यसताकाबाटै थियो र अहिले पनि छ । यसरी लिम्बु र धिमाल आदिकालबाटै नजीक बस्ने भएकोले धेरै नजीकको सम्बन्ध स्थापित गर्न सफल भएको छ । 
सीप तथा कलाहरु ः धिमाल जातिको महिलाहरुले आफूले लगाउने गरेका बोनाहरु(पेटानीहरु) आफैले बुन्ने गरेका छन् । धिमाल महिलाहरु तानमा चार प्रकारका लगाउने बोनाहरु ः दा बोना, सामुठी, इताङ्गी, पातोलोई तयार गर्दछन् । यसका अलावा अन्य दुई थरीका बोनाहरुः लुदाको बोना जुन एक प्राचीन बोना हो र दीरबोना जुन देउताको सामाग्रीहरु छोप्नको लागि मात्र प्रयोग गरिन्छन् पनि बुन्दछन् । त्यस्तै खाटमा ओछ्याउने तन्ना, बेड सीट, कछार, ओढ्ने लुगा, गम्छा आदि पनि महिलाहरु घरको तानमा तयार गर्दछन् । राई महिलाहरु अल्लोबाट कपडा उत्पादन गर्ने, लिम्बु महिलाहरुले पनि तानमा राढीपाखी, कपडा बुन्ने, गुरुङ महिलाले पनि कपडा उत्पादन गर्ने, नेवारले पनि कपडा उत्पादन गर्ने, बाह्रगाउने महिलाले पनि तानमा कपडा बुन्ने, लेप्चेनीले तान बुन्ने सीप, शेर्पाले पनि तानमा राढीपाखी उत्पादन गर्ने जस्ता आदिवासी सीपकलाहरु भएको पाइन्छन् । यी सीपकलाहरुले पनि यी जातजातिहरुबीचमा नजीकको सम्बन्ध राखेको पाइन्छ । त्यस्तै पुरुषहरुमा पनि सीप तथा कलाहरु पाइन्छन् ।

Comments

Popular posts from this blog

RAJARANI DHIMAL POKHARI